
रमेशकुमार बोहोरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अहिले आन्तरिक कलह बढ्दै गएको छ । पार्टीका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीबीचको झगडाले अब नेकपाको अवस्था कस्तो होला भन्ने शंका सुरु भएको छ ।
देश र जनताको बारेमा चिन्ता लिनुभन्दा पनि उनीहरु आफूलाई कसरी बलियो बनाउन सकिन्छ भनेर लागेका छन् । ओलीले दाहाललाई र दाहालले ओलीले छिनछिनमा गाली गर्दै आएका छन् । सरकार र पार्टी एकलौटी ढंगले चलाएको आरोप खेपिरहेका ओली अरु कसैको कुरा सुन्दैनन् त्यसैले पनि उनीहरुबीच के सहमति होला र पार्टी कसरी अघि बढ्ला भन्नेमा धेरैले शंका गर्न थालेका छन् । पटकपटक आन्तरिक द्धन्द्धमा फस्दै आएको नेकपाले निर्वाचनका बेलामा जनतामाझ गरेका बाचा पूरा नगर्दा जनताले समेत नेकपमाथि विश्वास गर्न छोडेका छन् ।
दाहालले केही दिन अघि ओलीलाई भ्रष्ट र कलंकित भएको आरोप लगाएपछि उनीहरुबीच झन् समस्या देखिएको छ । ओलीले आरोपको प्रमाण जुटाउन दाहाललाई चुनौती दिँदै आएका छन् । त्यतिमात्र होइन आरोप प्रमाणित भए आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष नै छोडिदिने पनि ओलीले जवाफ फर्काएका छन् । दाहाललाई पनि एमाले पक्षधरले विभिन्न आरोप लगाउँदै ओलीलाई चोख्याउन खोजिरहेका छन् । दाहाल र ओलीबीच द्धन्द्ध बढ्दै गएपछि पार्टीका नेता तथा कार्यकर्ता भने नराम्ररी चिन्तित भएका छन् । पार्टी एकता भएको ३० महिना पुगिसकेको छ तर एकता भएजस्तो व्यवहार नहुँदा सधैं किचलो बढ्दै गएको छ ।
गत बुधबार बोलाइएको सचिवालय बैठक पनि औपचारिक रुपमा बस्न सकेन । बैठक आगामी शनिबारका लागि बोलाइएको छ । यसअघि ओली र दाहालबीच सम्वाद नहुँदा रिसाएका दाहाललाई फकाउन ओलीले आफ्ना दूतलाई प्रचण्ड निवास खुमलटार पठाएका थिए । ओलीले सरकार र पार्टी आफूले राम्रो चलाएको दाबी गर्दै आएपनि पार्टीभित्रको अर्को पक्षले आलोचना गर्दै आएको छ ।
देशमा विविध समस्या भए पनि त्यसलाई कुनै मतलव नगरी पार्टी र सरकार अर्को बाटोमा हिँड्दा आलोचना बढी सहनुपरेको छ । बहुमतको सरकार भनिए पनि त्यस अनुसारको व्यवहार नहुँदा जनता भने ‘जुन जोगी आए पनि कानै चिरेको’ भनेर चित्त बुझाउन बाध्य भएका छन् ।
यो पनि पढ्नुहोस्